साफ महिला फुटबलमा भारत विजयी , नेपालले श्रीलङ्काको सामना गर्ने

विराटनगर

पाँचौँ साफ महिला फुटबल अन्तर्गत आइतबार भएको खेलमा भारतले श्रीलङ्कालाई ५–० ले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशाला भएको समूह ‘बी’ अन्तर्गतको खेलमा भारत विजयी भई समूह प्रथम भएको छ ।

भारतको जीतमा ग्रेस दाङमेई, सन्धिया रङ्गनाथन, इन्दुमती कथेरेसन, सङ्गीता वास्फोरे र रत्नाबाला देवी नानग्मेथेम गोल गरिन् । भारतले खेलको चौथो मिनेटमा नै दाङमेईले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् भने पहिलो गोल भएको तीन मिनेटपछि भारतकी खेलाडी रङ्गनाथनले गोल गरिन् ।

यसैगरी खेलको ३६ औँ मिनेटमा भारतकी कथेरेसन गोल गर्दै भारतलाई ३–० गोलको अग्रता दिलाइन् भने ४४ मिनेटमा वस्फारेले पेनाल्टीबाट गोल गर्दै भारतलाई ४–० को गोलले अगाडि बढाइन् । पहिलो हाफमा ४–० को अग्रता बनाएको भारतले दोस्रो हाफको ४७ औँ मिनेटमा नानग्मेथेमले गोल गर्दै भारतलाई ५–० अग्रता दिलाइन् । आगामी बुधबार हुने खेलमा नेपाल र श्रीलङ्काबीच सेमिफाइनल खेल हुनेछ ।
रासस