नायिका रेखा थापाले किनिन क्रिकेट क्लब

काठमाडौं । नायिका रेखा थापाले क्रिकेट क्लब किनेकी छिन्। रेखाले काठमाडौं सुपर च्याम्पियन्स क्लब किनेकी हुन् । यसअघि बलिउडमा शाहरुख खानसहित विभिन्न कलाकारले क्रिकेट क्लब सञ्चालन गरिरहेका बेला नायिका रेखाले पनि क्रिकेट क्लब किनेकी हुन् ।

रेखाको क्लबले पहिलो महिला टि–ट्वान्टी फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने छ। आयोजक एनसीएल स्पोट्सले सोमवार प्रतियोगितामा सहभागी जनाउने टोली, मालिक र खेलाडीको नाम सार्वजनिक गरेको छ।

काठमाडौंसहित विराटनगर रोअरिङ लायोनेश, भैरहवा क्विन्स, धनगढी वन्डर वुमन पनि सहभागी टिम हुन्। प्रतियोगिता वैशाख ७ देखि १४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

डेढ दशकदेखि चलचित्र तथा महिलाको क्षेत्रमा अनवरत रूपमा काम गर्दै आएकी रेखाले महिला क्रिकेट टिममा योगदान दिन टिम किनेको बताएकी छन् । रेखाले खरिद गरेको क्रिकेट टिमको मार्की खेलाडीको रुपमा नेरी थापा छिन् ।

वैशाख ७ देखि १४ गतेसम्म विराटनगरस्थित बैजनाथपुर क्रिकेट मैदानमा हुने ‘एनसिएल वुमन्स टि-२०’ विजेता टोलीले ट्रफीसहित १० लाख रुपैयाँ र उप-विजेताले ५ लाख रुपैयाँ पाउनेछन् । हरेक खेलको ‘प्लयेर अफ द म्याच’ ले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

अभिनेत्री रेखा क्रिकेट टिम खरिद गर्ने पहिलो नेपाली सेलिब्रेटी हुन् । नेपालमा आजसम्म कुनै पनि सेलिब्रेटीले क्रिकेट टिम खरिद गरेका छैनन् ।