जब हरिबंशले निश्चल बस्नेतलाई कृष्ण काले भने…(भिडियोमा)

काठमाडौं । चलचित्र ‘जात्रै जात्रा’ को पहिलो गीत सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको पहिलो गति सार्वजनिक गरिएको हो ।

विवाहको माहौलमा खिचिएको उक्त गीतमा चलचित्रका कलाकारसँगै निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्रीद्धय करिश्मा मानन्धर र सारा श्रीपाईलीले कम्मर मर्काएका छन् ।

‘माया पिरिम’ बोलको उक्त गीतमा निशान भट्टराई र मनिषा पोखरेलको स्वर रहेको छ । गीतमा कृष्ण भारद्वाजको सङ्गीत रहेको छ भने लेखु सहयात्रीको शब्द रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा चलचित्रका अधिकांश कलाकारहरू विपिन कार्की, वर्षा राउत, दयाहाङ राई, रविन्द्र सिंह बनियाँ, रविन्द्र झा लगायतका कलाकारले कम्मर मर्काएका छन् ।

गीत सार्वजनिक कार्यक्रममा वरिष्ठ कलाकार हरिबंश आचार्यले उक्त गीतको नृत्य हेर्दा देवताहरुको डान्सजस्तै लागेको प्रतिक्रिया दिएका छन् ।

गीतमा करिश्मा मानन्धर, वर्षा राउत, सारा श्रीपाईली लगायतले उत्कृष्ठ अभिनय गरेको बताए । चलचित्रमा समावेश सबै कलाकारको नाम लिने क्रममा हरिबंशले निश्चल बस्नेतलाई भगवान कृष्णसँग तुलना गरे । उनले भने, ‘निश्चल भाई त कृष्ण भगवान हो । रंग पनि अलि अलि मिल्ने ।’